सीके राउतमाथि ‘राज्य विप्लव’को मुद्दामा अनुसन्धान शुरु - Bikash Poudel
Headlines News :
Home » » सीके राउतमाथि ‘राज्य विप्लव’को मुद्दामा अनुसन्धान शुरु

सीके राउतमाथि ‘राज्य विप्लव’को मुद्दामा अनुसन्धान शुरु

२ असोज, काठमाडौं । मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै अभियान चलाउँदा पक्राउ परेका डा. सीके राउतलाई २४ घन्टा न्यायिक हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । मोरङ प्रहरीले राउतलाई बुधबार बिहान बुद्ध एयरको विमानबाट बिराटनगरबाट काठमाडौं ल्याई विशेष अदालत बबरमहलमा उपस्थित गराएको थियो । प्रहरीले ‘राज्यविरुद्धको अपराध’मा थप अनुसन्धान गर्न राउतलाई २५ दिन थुनामा राख्न अनुमति मागेको थियो । न्यायाधीश मोहनरमण भट्टराई र भूपेन्द्र राईको इजलासले एक दिन थुनामा राख्न आदेश दिएको छ । राउतको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ रहेकाले विशेष अदालतले एक दिन थुनामा राख्न अनुमति दिएको हो । विशेष अदालतका रजिष्ट्रार नातिबाबु लामिछानेले सीके राउतमाथि सरकारले लगाएको राज्यविरुद्ध अपराधको अभियोगलाई स्वीकार गरेको बताए । लामिछानेले भने-‘उनीविरुद्ध लगाइएको राज्य विरुद्धको अपराध तथा सजायँको सरकारी मुद्दा अदालतले स्वीकार गरेको छ । भोलि (शुक्रवार) सर्बोच्च अदालतबाट के आदेश हुन्छ, त्यसका आधारमा म्याद थपका लागि ल्याइएमा अर्को आदेश हुनेछ ।’ यदि राउत विरुद्धको अभियोग पुष्टि भएमा राज्यविरुद्धको अपराध तथा सजायँ सम्बन्धी कसुर ऐन-२०४६ अनुसार १० देखि २० वर्ष कैद सजाय हुने उनले बताए । राउतलाई हनुमानढोका राउतलाई एक दिन थुनामा राख्ने अनुमति विशेष अदालतले दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको छ । अदालतबाट निस्कँदै गर्दा राउतले मधेश स्वराज स्थापना गरी छाड्ने भन्दै आफ्ना समर्थकलाई ढाडस दिएका थिए । अदालत परिसमा उपस्थित भएका राउतका समर्थकले उनको पक्षमा नाराबाजी गरेका थिए । यसअघि राउतलाई विशेष अदालतमा उपस्थित गराइएको थियो । सरकारी वकिलले राउतले राज्य विरुद्ध अपराध गरेको साबिती बयान दिइसकेकाले उनलाई थुनामा राखेर थप अनुसन्धानका लागि अदालतको आदेश मागेका थिए । बहस क्रममा राउतका वकिलले भने सार्वजनिक अपराधको मुद्दा चलाइसकेको र बन्दीप्रत्यक्षीकरणमा सर्वोच्चले शुक्रबार सशरीर उपस्थित गराउन भनेकाले म्याद थप आवश्यक नभएको बताएका थिए । राउत पक्षका वकिलले मुलुकमा संविधान बनाउने र राज्य पुनसंरचना गर्ने प्रक्रिया चलेकाले नागरिकले आफ्नो कुरा राख्न पाउने जिकिर गरेका थिए । राउतको पक्षबाट अधिवक्ताहरू सुरेन्द्र महतो, अरविन्दकुमार सिंह, धीरेन्द्रकुमार साह लगायतले बहस गरेका थिए । भित्र बहस चलिरहँदा उनका सर्मथकहरूले भने राउतलार्इ रिहा गर्न माग गर्दै व्यानर प्रर्दशन गरेका थिए ।  मोरङ प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइसकेको छ । तर, बन्दीप्रत्यक्षीकरणसम्वन्धी रिटमा सर्वोच्चले शुक्रबार सशरीर उपस्थित गराउन आदेश दिएको छ । मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाएका राउत मोरङको रंगेलीबाट शनिबार पक्राउ परेका थिए ।
Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz