निर्वाचन आयोगमा धर्ना दिन गएका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ । नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दवाव दिन भन्दै नयाँ शक्तिले आइतबारदेखि देशैभरका सबै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम अन्तर्गत जमलमा रहेको आयोगमा धर्ना दिन गएका भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको हो । भट्टराई संगै नेत्री हिसिला यमीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
नयाँ शक्तिले यसअघि नै गत बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ऐन संशोधनका लागि ४८ घण्टाको समयसीमा दिएको थियो । शनिबारसम्मको समयसीमा दिएर नयाँ शक्तिले ऐन संशोधन नभए आइतबारदेखि आन्दोलन सुरु गर्ने घोषणा यसअघि नै भएको थियो । सोही अनुसार नयाँ शक्तिले आइतबार र सोमबार निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिन लागेको हो । निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले षड्यन्त्र र बेइमानी गरेको भन्दै ऐन संशोधनका लागि संघर्ष गर्न बाध्य भएको नयाँ शक्तिले यसअघि नै पार्टीको धारणा सार्वजनिक गरेको छ ।