चितवन, ११ कात्तिक । स्क्रब टाइफस रोगबाट आज चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ ।
कलेजका चिकित्सक डा शीतल अधिकारीका अनुसार पश्चिम चितवनकी ५१ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो । बाह्र दिनअघिदेखि बिरामी परेकी ती महिला तीन दिनअघि मात्रै उपचारका लागि अस्पताल आएकी थिइन् ।
शरीरका महत्वपूर्ण अङ्गहरू काम गर्न नसक्ने अवस्थामा पुगेपछि अस्पताल भर्ना भएकी उनलाई बचाउन नसकिएको डा. अधिकारीले बताउनुभयो ।
योसँगै चितवनमा स्क्रब टाइफस रोगबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि रत्ननगर र कालिका नगरपालिका एवम् भरतपुर उपमहानगरपालिकाको मङ्गलपुरका एक÷एकजनाको सोही मेडिकल कलेजमा मृत्यु भएको थियो ।
त्यसैगरी तनहुँ रुपाकोटकी एक महिलाको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।