सामाग्री अभावमा सडक निर्माण कार्य प्रभावित - Bikash Poudel
Headlines News :
Home » , , » सामाग्री अभावमा सडक निर्माण कार्य प्रभावित

सामाग्री अभावमा सडक निर्माण कार्य प्रभावित

रत्ननगर, १ असोज।

चितवनकै नमूनाको रुपमा रत्ननगरमा बन्दै गरेको फोरलेन सडक निर्माणका लागि निर्माण सामग्री अभाव भएको छ । जसले गर्दा काम प्रभावित हुने देखिएको छ । निर्माण सामग्री नहुँदा ढल र पर्खाल निर्माणको काम रोकिने अवस्थामा पुगेको सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्सट्रक्सन प्रालिले जनाएको छ ।
अरु काम भने चालु रहने बताइएको छ ।
ढल र पर्खाल निर्माणका लागि आवश्यक सामग्री क्रसरले दिन नसक्दा काम रोकिने अवस्थामा पुगेको श्रेष्ठ कन्सट्रक्सनका सवईन्जिनियर दीपेन्द्र खातीले जानकारी दिए । “आवश्यक निर्माण सामग्री क्रसरले दिन सकेको छैन”, सवईन्जिनियर खातीले भने, “जसका कारण काममा प्रभावित हुन थालिसक्यो ।” खातीका अनुसार ढल र पर्खाल निर्माणका लागि अहिले दैनिक १० ट्रिप ढुंगा तथा ५–५ ट्रिप गिट्टी र बालुवा आवश्यक पर्छ ।
सरकारले पनि अहिले ढुंगा, बालुवा निकासीमा रोक लगाएको छ । श्रेष्ठ कम्पनीले मकवानपुरको मनहरी, चितवनको लोथरदेखि सामग्री ल्याएर काम गर्दै आएको छ । सामान अभाव भएपछि काम बन्द हुँदा फोरलेन सडक निर्माणको प्रोजेक्ट लम्बिन सक्ने संकेत देखिएको छ । निर्माणका लागि यसअघि सम्झौता भएको ६ महिनापछि काम सुरु भएको थियो भने सामान अभावले काम प्रभावित हुँदा यहाँका स्थानीयले थप समस्या झेल्नुपर्ने देखिएको छ । सडक निर्माणका क्रममा अहिले धुलो उडेर यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ ।
“स्थानीयको समस्याप्रति हामी चिन्तित छौं” श्रेष्ठ कन्ट्रक्सनका सवइन्जिनियर खातीले भने, “सरकारले ढुंगा, बालुवा निकासीमा रोक लगाउँदा अहिले समस्या देखियो ।” निर्माण सामग्री अभावका कारण अहिले कामदारको संख्या पनि घटाइएको छ । चार दिनअघि दैनिक १ सय ६० जना कामदार निर्माणमा खटिएकोमा बिहीबारदेखि करिब १०० जना मात्रैले काम गरिरहेका छन् । फोरलेन सडकको अहिले ढल निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने राजमार्ग पीचका लागि ग्राबेल गर्ने र सर्भिसरोड बनाउने काम सुरु भएको छ । कम्पनीका अनुसार ढल निर्माणको काम ९५ प्रतिशत सकिसकेको छ ।
राजमार्ग पीचको काम भने दशैंपछि सुरु हुने बताइएको छ । फोरलेन निर्माणको क्रममा विद्युत्, टेलिफोनको पोलका कारण पनि काममा ढिलाइ भएको छ । “काम ढिलो भयो भन्नु स्वाभाविक हो”, प्रोजेक्ट म्यानेजर एवं कम्पनीका इन्जिनियर अनिश रेग्मीले भने, “पोल नसार्दा समस्या देखिएको हो ।” अहिले पोल भएको ठाउँमा सर्भिस लेन रहनेछ ।
इन्जिनियर रेग्मीका अनुसार सामानको आपूर्ति सहज भई राखे र बीचमा कुनै अवरोध नआए आगामी चैतसम्ममा फोरलेन सडकको काम सम्पन्न हुनेछ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगरको लौरीघोलीदेखि निपनीसम्मको २ किलोमिटर ३०० मिटरमा हाइवे, सर्भिसलेन, ग्रीनरी र फुटपाथ गरी फोरलेन सडक निर्माण गर्न लागिएको हो । सडक निर्माणका लागि श्रेष्ठ कन्सट्रक्सनले करिब १९ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

Share this article :
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks
HTML tutorial

Sponsor

 
Support : Radio Arpan 104.5 MHz | YouTube | Facebook
Copyright © 2014. Bikash Poudel - All Rights Reserved
Web-Design By :: Rijan KC
Powered By :: Radio Arpan 104.5 MHz