काठमाडौं-संविधानसभाबाट घोषित संविधान अपूर्ण रहेको ठहर गर्दै जम्बो केन्द्रीय समिति बनाएर विभाजित माओवादी घटकहरूको बिहीबार काठमाडौंमा पार्टी एकता घोषणासभा हुने भएको छ ।पार्टी एकतापछि केन्द्रीय समिति ६ सय ९९ सदस्यीय बनाउने टुंगो पार्टी एकता संयोजन समितिले लगाएको छ ।
संयोजन समितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारी माओवादीका अध्यक्ष रामबहादुर थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका वसन्त घर्ती र जयपुरी घर्ती छन् ।
एकता प्रक्रियामा आउनेहरूका लागि एक सय सिट रिक्त राखेर ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउन लागिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यो सम्भवतः कुनै पनि पार्टीका लागि संसारकै सबैभन्दा ठूलो केन्द्रीय समिति हुनेछ ।
सचिवालयका अनुसार हाल एमाओवादीको केन्द्रीय समितिमा एक सय २३ जना छन् । अन्य पार्टीबाट कनिष्टहरू केन्द्रीय सदस्य बनेर आउने भएपछि एमाओवादीले एक सय २३ जनाको केन्द्रीय समितिलाई बढाएर जम्बो बनाएको हो । सात प्रदेशबाट २५ जनाका दरले केन्द्रीय समितिमा बढुवा गर्दा एक सय ७५ जना थपिनेछन् । एमाओवादीका जिल्ला अध्यक्ष र जिल्लाका वरिष्ठ पदाधिकारी तथा केन्द्रीय परिषद्का सदस्य आयोजक समितिमा रहनेछन् । पहिले नै केन्द्रीय सदस्य भइसकेका ८० जनालाई केन्द्रीय समितिमा ल्याउने निर्णय एमाओवादीले गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
- See more at: http://www.ratopati.com/aakhabar/50896/#sthash.i1YgDj4X.e4AGDwPG.dpuf